जनकपुर – चन्दन रजक। मधेश प्रदेशमा सरकार गठनका विषयमा देखिएको राजनीतिक रस्साकसबीच जनमत पार्टीले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। पार्टीका संगठन विभाग प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतका अनुसार, जनमत पार्टीको मुख्य उद्देश्य सत्ताको भागबण्डा होइन, संघीयता र जनताको हित जोगाउनु हो।
जसपा नेपाल र लोसपाले मधेश प्रदेश सरकार आफ्नो नेतृत्वमा बनाउन सबै अभ्यास गरे, तर सफल हुन सकेनन्। अहिले त्यस असफलताको दोष जनमत पार्टीमाथि थोपर्न खोज्नु खट्टे अंगुरको कुरा जस्तै हो।
उनका अनुसार, जनमत पार्टीले पहिले पनि जसपा नेपाललाई समर्थन दिएको थियो। तर अहिले जसपा र कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि संवैधानिक रिक्तता नहोस् भन्ने उद्देश्यले जनमतले वैकल्पिक सरकार बनाउन सहयोग गरेको हो।
सरकार आउँछन् र जान्छन्, तर मधेश आन्दोलनले ल्याएको संघीयता जोगिनु जरुरी छ। जनमत पार्टी सत्ताको रेसमा छैन, हामी जनताबीच र सडकमा छौं।
प्रदेश सभा विघटनको खतरा र संघीयता संकटको सूचनालाई गम्भीर रूपमा लिँदै जनमत पार्टीले जिम्मेवार भूमिका खेलेको डा. राउतको भनाइ छ।











