पर्सा। वीरगञ्जको भानुचोकस्थित शाह प्याराडाइस होटेलको पहिलो तलमा रहेको कोठा नम्बर १११ मा दुई भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।
मृतकहरू भारतको त्रिपुरा राज्यका स्थायी बासिन्दा ६७ वर्षीय सजल आचारजी र उनका २४ वर्षीय छोरा सागर आचारजी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
प्रहरीका अनुसार उनीहरूले असोज १९ गते बिहान करिब ४ बजे उक्त होटलमा कोठा बुक गरेका थिए। मङ्गलवार साँझसम्म कोठाको ढोका नखुलेपछि र बारम्बार सम्पर्क प्रयास असफल भएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार प्रहरी टोलीले छेउको कोठाको भेन्टिलेटर फोडी अवलोकन गर्दा छोरा सागर पङ्खामा झुन्डिएको र बुवा सजल बेडमा पल्टिएको अवस्थामा देखिएका थिए।
होटेल स्रोतका अनुसार मृतकहरूले सोमबार दिउँसोसम्म नियमित रूपमा रुम सर्भिस र खाना मगाएर खाएका थिए। तर, साँझ सम्पर्क हुन नसकेपछि शङ्का लागेपछि मङ्गलवार बिहान सफाइका लागि पठाइएको कर्मचारीले ढोका नखोलेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
डिएसपी लम्सालका अनुसार हालसम्म कोठाको ढोका खोलिएको छैन। भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा मात्रै ढोका खोल्ने तयारी भइरहेको छ। प्रारम्भिक रूपमा आत्महत्याको आशङ्का गरिएको भए पनि ढोका नखोली निश्चित कारण पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ।











