मधेशमा युवामाझ लागुऔषधको बढ्दो लत, तीन वर्षमा तीन हजारभन्दा बढी पक्राउ


बर्दिवास । एघार वर्षकै उमेरमा रमेश यादव सहपाठीको संगतमा लागुऔषध सेवनमा लागे। कक्षा १२ पुग्दा–पुग्दै उनले गाँजा, ट्याब्लेट, मदिरा र इन्जेक्सनको लत बसाइसकेका थिए। सहपाठी रन्जन दास, पिताम्बर दास र मोहन साह पनि उस्तै अवस्थाबाट गुज्रिए।

लागुऔषध सेवनका कारण उनीहरूको पढाइ, पारिवारिक जीवन र सामाजिक सम्बन्धमा ठूलो असर पर्‍यो। विवाहयोग्य उमेर पुगे पनि योग्य जीवनसाथी पाउन सकेनन्। अन्ततः गरिब घरकी छोरीसँग विवाह भए पनि जिम्मेवारी निर्वाह गर्न असमर्थ रहे। स्वास्थ्य, सीप र मानसिक अवस्था कमजोर बन्दै गएपछि उनीहरूमा पछुतो मात्र बाँकी रह्यो।

मधेश प्रदेशका सीमा क्षेत्र अहिले लागुऔषध कारोबारको केन्द्र बन्दै गएका छन्। भारतीय सीमावर्ती जिल्लासँग जोडिएका आठै जिल्लामा ग्रामीण डगर र कच्ची बाटो प्रयोग गरी लागुऔषध नेपाल भित्र्याइने र अन्य शहरमा पु¥याइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार पछिल्ला तीन वर्षमा लागुऔषधसम्बन्धी घटनामा ३ हजार २३६ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये करिब ९० प्रतिशत युवा रहेका छन्, जसमा १२ देखि ३५ वर्ष उमेर समूहका किशोरकिशोरी बढी संलग्न पाइएको छ।

यही अवधिमा प्रहरीले ६ लाख ८४ हजार ९८५ तौल/थान प्रतिबन्धित पदार्थ बरामद गरेको छ। जसमा गाँजा ३० हजार ७०३ किलो, ब्राउन सुगर ७० ग्राम, चरेश ७८१ किलो, अफिम ४६ किलो, हिरोइन ४.३ किलो, ट्याबलेट ४ लाख ८७ हजार १९५ थान, बोतल १९ हजार १४७ र इन्जेक्सन १ लाख ७८ हजार ६४३ थान छन्।

प्रहरी अनुसन्धानअनुसार, किशोरकिशोरी लागुऔषधमा फस्नुका कारणमा पढाइमा असफलता, अभिभावकको ध्यानको कमी, साथीको दबाब, सामाजिक सञ्जाल र चलचित्रको प्रभाव, तथा सजिलो पैसा कमाउने प्रलोभन प्रमुख रहेका छन्।

चिकित्सक दिलिपकुमार साहका अनुसार, लागुऔषध सेवनले शारीरिक, मानसिक, पारिवारिक, सामाजिक र आर्थिक जीवनमा गम्भीर असर पार्छ। यसले एचआईभी/एड्स, हेपाटाइटिस, तौल घट्ने, डिप्रेशन, स्मरणशक्ति कमजोर हुने, पारिवारिक विवाद र चोरीजस्ता अपराध बढाउने खतरा हुन्छ।

नागरिक समाजका अध्यक्ष थानसिंह भनसालीले युवाको उर्जा र सिर्जनशीलता सकारात्मक गतिविधिमा लगाउनुपर्नेमा जोड दिए। उनका अनुसार, युवाले सिर्जनशील कार्यमार्फत भविष्य सुरक्षित गर्न सके देशको विकासमा समेत ठूलो योगदान पुग्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको