बर्दिवास। महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्।
शुक्रबार गौशालाबाट माइस्थान चोकतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले गौशाला नगरपालिका – १ रामनगरमा दुई जना पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ३८ वर्षीया शोभा परियारको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय राजु परियारकी १० वर्षीया छोरी ज्ञानु परियारको उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि बर्दिबासस्थित सरकारी अस्पतालमा पठाइएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक गौशाला नगरपालिका – ५ का १९ वर्षीय सुशान्त शर्मालाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।











