७ असोज, जनकपुरधाम। सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार सोमबार बिहान अभिषेकको शव घर नजिकै रहेको आँप बगैंचामा फेला परेको हो। उनले घटनाबारे थप अनुसन्धान भइरहेको र डग टोली बोलाउने तयारी भइरहेको जानकारी दिए।
परिवारका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए। रातभर खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको सन्देश आएको थियो।
प्रहरीलाई यसबारे सोही दिन जानकारी दिइएको सूचना अधिकारी यादवले बताए।
अपहरणकारीले हिन्दी भाषामा पठाएको सन्देशमा ५ करोड रुपैयाँ फिरौती माग्दै रकम नदिए मार्ने धम्की दिएका थिए। सन्देशमा प्रहरीले खबर पाएमा पनि बालकलाई हत्या गर्ने चेतावनी दिइएको थियो।









