जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आगामी असोज ७ गते बस्ने भएको छ। शनिबार सभामुख रामचन्द्र मण्डलले दिनको १ बजे बैठक बस्ने जानकारी दिनुभयो।
आज बसेको सर्वदलीय बैठकले असोज ७ गते प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको सभामुख मण्डलले बताए। उनका अनुसार हालैको तोडफोड र आगजनीका कारण क्षतिग्रस्त संरचनामध्ये प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गर्दै सभा सञ्चालन गरिनेछ।
साथै, जलेका संरचनाको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए।
विपक्षी दलहरूको अवरोधका कारण स्थगित हुँदै आएको मधेस प्रदेशसभा, जेन–जी आन्दोलनका क्रममा भवन क्षतिग्रस्त भएपछि अनिश्चित बनेको थियो। तर मुख्यमन्त्री सरोजकुमार सिंहले विश्वासको मत लिने अडान कायम गरेपछि दलहरूको दबाबमा असोज ७ गते बैठक बस्ने सहमति भएको जनाइएको छ।










