चाडपर्व लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्व लक्षित यातायात व्यवस्थापन सहज बनाउन तथा सडक सुरक्षासम्बन्धी विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ।

छलफलपछि मन्त्री घिसिङले यात्रुहरूलाई चौबिसै घण्टा सडक अवस्थाबारे जानकारी दिन, गुनासो सुन्ने र आवश्यक व्यवस्थापन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। साथै बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक खण्ड तत्काल सञ्चालनमा ल्याउनसमेत उहाँले निर्देशन दिनुभएको छ।

बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारी साधनलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्ग हुँदै पठाउने र दशैँपछि त्यस्ता सवारी साधनलाई पुनः प्रवेश गराउने व्यवस्था मिलाउने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

यातायात सुरक्षालाई मजबुत बनाउन उपत्यकाको नयाँ बसपार्क तथा विभिन्न राजमार्गमा प्रहरी गस्ती र प्रहरी संख्या बढाउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, राजमार्गको कमजोर अवस्था र यात्रुवाहक सवारीको सहज आवागमनलाई ध्यानमा राख्दै बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दशैँ अवधिभर १२ चक्के वा सोभन्दा ठूला मालबाहक सवारी सञ्चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णयसमेत भएको छ। तर खाद्यान्नलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीलाई भने निरन्तर आवागमनको व्यवस्था मिलाइनेछ।

बैठकले मुलुकभरका प्रमुख सडक खण्ड सुधार एवं मर्मत गर्न, पहिरो व्यवस्थापनका लागि आवश्यक सामग्री र उपकरणको तयारी गर्न, बुटवल–नारायणघाट दाउन्ने खण्डमा २४ सै घण्टा दुईतर्फी सवारी सञ्चालन हुने व्यवस्था मिलाउन सडक विभागलाई निर्देशन दिएको छ। साथै नारायणघाट–मुग्लिन सडकको तुइन खोलामा पहिरो हटाई तत्काल सञ्चालनमा ल्याउन र तातोपानी नाका जोड्ने सडक दशैँअघि सञ्चालनमा ल्याउनसमेत निर्देशन गरिएको छ।

यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न नागरिकलाई आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि सडक विभागमार्फत २४ घण्टा सञ्चालन हुने ‘फोकल पर्सन’ सहितको सार्वजनिक सूचना प्रणाली व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रतिनिधि तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए। मन्त्री घिसिङले पदभार ग्रहण गरेयता जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्राथमिकता दिँदै आउनुभएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको