बर्दिवास, महोत्तरी – बर्दिवास नगरपालिका- ९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा २०८२ असोज १ गते जेन-जि आन्दोलनको बहानामा केही व्यक्तिहरूले विद्यालय परिसरमा प्रवेश गरी अवाञ्छित गतिविधि गरेका छन् ।
विद्यालयले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनकारी समूहले विद्यालयमा प्रवेश गरेर प्रधानाध्यापक तथा शिक्षक – कर्मचारीलाई अपमानित गर्ने व्यवहार गरेका थिए । साथै, विद्यालयको वातावरण, सार्वजनिक शान्ति, नैतिकता र शैक्षिक मर्यादामाथि प्रतिकूल असर पार्ने गतिविधि भएको विद्यालय प्रशासनले जनाएको छ ।
यसबाहेक, आन्दोलनका नाममा सामाजिक सञ्जाल (विशेषगरी फेसबुक) मार्फत विद्यालयको शान्त वातावरण बिगार्ने खालका पोस्ट तथा भ्रामक समाचार प्रचार गरिएको विद्यालयले आरोप लगाएको छ । यसलाई विद्यालय परिवारले दुःखद र निन्दनीय कार्य भनेको छ ।
विद्यालयले भ्रामक सूचना र अपमानजनक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै गलत कार्य सच्याई सार्वजनिक माफी माग्न पनि आग्रह गरेको छ । साथै, यस्ता गतिविधि दोहोरिए कानुनी कदम चालिने चेतावनी दिइएको छ ।
नेपाल सरकारको प्रचलित कानुनअनुसार विद्युतीय अपराध ऐन, २०६३ र मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाइने विद्यालयले स्पष्ट पारेको छ ।









