सम्पर्कमा नआउने कैदीलाई थप पाँच वर्ष कैद सजाय


रौतहट – कारागार कार्यालय गौर, रौतहटबाट भागेका कैदीबन्दीहरू आफैं सम्पर्कमा नआए तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार सूचना प्रकाशित गर्दै भदौ २४ गते कारागार कार्यालय गौरबाट भागेका कैदीबन्दीमध्ये केही सम्पर्कमा आइसकेको तर अझै धेरैजना सम्पर्कमा नआएकाले नजिकको प्रहरी कार्यालय वा गौर कारागारमा सम्पर्क राख्न आग्रह गरेको हो ।

प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता राजु कार्कीका अनुसार, सम्पर्कमा नआएर फरार रहेका कैदीबन्दीलाई कारागार ऐन, २०७९ को दफा ४९ (ग) अनुसार तोकिएको सजायमा अतिरिक्त पाँच वर्ष कैद थप गरिनेछ ।

जेनजी आन्दोलनको क्रममा सुरक्षामा कमजोरी देखिँदा भदौ २४ गते राति गौर कारागारबाट २६० जना कैदी फरार भएका थिए । हालसम्म २११ जना अझै फरार रहेको कारागार प्रमुख मनीष झाले जानकारी दिएका छन् ।

घटनापछि कारागारको सुरक्षा नेपाली सेनाले सम्हालिरहेको छ । यस्तै, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा पूर्व नेपाल लजदेखि पश्चिम घण्टाघर, उत्तर कृषि ज्ञान केन्द्रदेखि दक्षिण जुद्ध उच्च माविसम्म निषेधाज्ञा जारी राखेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको