जनकपुर – मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गत मंगलबार राजीनामा बुझाएका कुशवाहाले आज मात्र पत्र सार्वजनिक गरेका हुन्। पत्रमा उनले हालको राजनीतिक परिस्थिति र नयाँ पुस्ताले सुरु गरेको आन्दोलनलाई आत्मसात् गर्दै मन्त्री पदबाट अलग हुने निर्णय गरेको उल्लेख छ।
‘वर्तमान राजनीतिक परिस्थितिले देशलाई अस्थिर बनाएको छ। नयाँ जेन–जी पुस्ताका युवाहरूको आन्दोलन, उनीहरूको माग र भावनालाई आत्मसात् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयतालाई सुदृढ बनाउन निरन्तर संघर्ष र बलिदानका लागि तत्पर रहने छु,’ कुशवाहाले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले सधैं जनताको सेवामा प्रतिबद्ध रहने बताउँदै मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारीबाट अलग भएको जनाएका छन्।
कुशवाहा जनमत पार्टीका नेता हुन्।










