३१ साउन, जनकपुर —
मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस प्रदेशका सबै १३६ वटै पालिकामा फैलिएको सुख्खा र खानेपानी संकट समाधानका लागि प्रदेश सरकार आफ्ना स्रोत र साधन पूर्ण रूपमा परिचालन गर्ने बताएका छन्।
मंगलवार बिहान सरोकारवाला मन्त्रालयका पदाधिकारीहरू तथा दातृ निकायका प्रतिनिधिहरूसँग बसेको बैठकमा मुख्यमन्त्री सिंहले संकट समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न सबै पक्षसँग सामूहिक प्रयासको आग्रह गरे।

“बैठक र निर्णय मात्र होइन, के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं,” मुख्यमन्त्री सिंहले भने, “प्रदेशका नागरिकलाई तत्काल राहत दिन सक्ने कामहरू प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।”
सिंहले संघीय सरकार र दातृ निकायहरूलाई खुला हृदयले सहयोग गर्न आह्वान गर्दै भने, “अहिलेको असामान्य वातावरणीय संकटले खाद्य सुरक्षा समेत चुनौतीमा पर्न सक्छ, त्यसैले समयमै हस्तक्षेप आवश्यक छ।”
मुख्यमन्त्री सिंहले संकट समाधानका लागि संघीय सरकारसँग पनि छलफल जारी रहेको जानकारी दिँदै, सबै निकायलाई दैनिक प्रगति विवरण पठाउन निर्देशन दिए।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको पनि उपस्थिति थियो।
सरोकारवाला मन्त्रालयहरूले वर्तमान अवस्था सम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए भने दातृ निकायका प्रतिनिधिहरूले आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।









