मधेसमा बन क्षेत्र सुधारको अभियान सुरु, मन्त्री यादव भन्छन्– “शहीदको बलिदान जोगाउन अब बन जोगाउन जरुरी”


जनकपुरधाम | अनिषा पौडेल
मधेस प्रदेश सरकारले बन क्षेत्र सुधारको अभियान सुरु गरेको छ। बन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश बन निर्देशनालय, जनकपुरधामको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा मन्त्रालयले विभिन्न जिल्लामा सञ्चालन भएका योजनाहरूको वार्षिक प्रगति प्रतिवेदन र समिक्षा प्रस्तुत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका बन तथा वातावरण मन्त्री माननीय संजय यादवले प्रदेशको बन व्यवस्थापन, पारदर्शिता र राजस्व अभिवृद्धिसम्बन्धी दृष्टिकोण सार्वजनिक गर्दै महत्वपूर्ण मन्तव्य दिनुभयो।

“अब सबै जिल्लामा बनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक छ,” मन्त्री यादवले भन्नुभयो, “जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि बन संरक्षण र राजस्व वृद्धि दुवै अत्यावश्यक छन्।”

शहीदहरूको बलिदानप्रति सम्मान प्रकट गर्दै मन्त्री यादवले संघीयता प्राप्तिमा भएको योगदानको स्मरण गर्दै भन्नुभयो, “संघीयता प्राप्तिका लागि शहीदहरूले जुन बलिदान दिएका थिए, अब त्यसको सम्मान स्वरूप बन जोगाउने जिम्मेवारी हामी सबैको हो। बन क्षेत्रको संरक्षणले राज्य र मधेस दुबैको समृद्धिमा टेवा पुर्‍याउँछ।”

उहाँले मधेसमा विगतमा देखिएको ‘सेटिङ्ग’ र बिचौलिया प्रणालीमाथि कडा आलोचना गर्दै प्रतिबद्धता व्यक्त गर्नुभयो, “मधेस प्रदेशमा बनको नाममा बदनाम कार्यशैली, सेटिङ र अनियमितता अन्त्य गर्न अबको प्राथमिकता हो। ‘सेटिङ’ भन्ने शब्दलाई बन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी छ।”

मन्त्री यादवले पारदर्शी, जवाफदेही र जनमैत्री बन प्रशासन निर्माण गर्न सबै सरोकारवालाहरूको साझा पहल आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, सरोकारवाला निकायहरू, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको