चित्रपुरमा आँप मेला महोत्सव : स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्य


१३ असार, धनुषा –
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा असार १४ र १५ गते “चित्रपुर आँप मेला महोत्सव – २०८२” हुने भएको छ। स्थानीय उत्पादन प्रवर्द्धन तथा पर्यटन विकासलाई लक्ष्य गर्दै चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डले दोस्रो संस्करणको मेला आयोजना गर्न लागेको हो।

मेला आयोजक समितिका सदस्य फुलगेन मगहीका अनुसार मेलामा ४० भन्दा बढी जातका आँपसहित जुस, अचार र आँपजन्य परिकारहरूको प्रदर्शनी गरिनेछ। पर्यटकका लागि निःशुल्क आँप चाख्न पाउने, आँप बगैंचामा घुम्न र रुखबाट आँप टिप्ने अनुभव लिन सक्ने कार्यक्रमसमेत रहने आयोजकले जानकारी दिएका छन्। साथै विद्यार्थीहरूका लागि विविध जातका आँपहरू चिनाउने शैक्षिक गतिविधिहरू पनि समावेश गरिनेछ।

चित्रपुर क्षेत्रमा हाल ३ सय बिघा भन्दा बढी जमिनमा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको छ। पूर्व–पश्चिम लोकमार्गको नजिक रहेको यो क्षेत्र आन्तरिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकसित हुँदै गएको आयोजकहरूको भनाइ छ।

दीर्घकालीन रूपमा चित्रपुरलाई “आँप पर्यटन नाका” को रूपमा विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्। मेला मार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

तथ्याङ्क अनुसार, मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको