लगातार वर्षाका कारण नारायणी नदीले सतर्कताको स्तर नाघ्यो


असार २७ । नारायणी नदीको जलाधार क्षेत्रमा लगातार वर्षाका कारण नदीले सतर्कताको स्तर नाघेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटमा रहेको पानी मापन केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ५ मिनेटमा नदीले सतर्कता स्तर नाघेको हो । अहिले नदीमा पानीको बहाव ७ दशमलव ३७ मिटर पुगेको छ । नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको देवघाटको जलमापन केन्द्रले जनाएको छ ।

देवघाटस्थित पानी मापन केन्द्रमा पानीको सतह ७ दशमलव ३ मिटर पुगेमा सतर्कताको स्तर मानिन्छ र ९ मिटर पुगेमा खतराको स्तर नाघेको मानिन्छ । देवघाटस्थित नदी जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन् ।

यसैबिच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका भन्दै उहाँले जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

“जिल्लास्थित विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर काम गरिरहेको छ”, प्रजिअ रिजालले भने, “हामीले स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क रहन आग्रह गरेका छौँ ।” नवलपुरमा नारायणी नदी र कालीगण्डकी नदीको बाढीबाट डुबान तथा कटानको उच्च जोखिम रहेको भन्दै उनले अन्य खहरे खोलाहरूमा आउने बाढीले डुबान हुने गरेको बताए ।

कालीगण्डकी नदीको बाढीबाट बौदिकाली, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको नदी नटीय क्षेत्र प्रभावित हुने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले नारायणी नदीको बाढीबाट गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुने गरेको जानकारी दिए । बाढीबाट नदी किनारका बस्ती जोगाउन तटबन्धसहित अन्य संरचना निर्माण गर्ने काम भइरहेको उनले बताए । रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको