असार २४ । कञ्चनपुरको अधिकांश ठाउँमा लगातार भारी वर्षाका कारण डुवानमा परेका छन्।
कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ६२०.४ मिलिमिटर वर्षा भएको छ । यो अहिलेसम्मकै सबैभन्दा भारी वर्षा हो । त्यस्तै कञ्चनपुरको हन्माननगरमा ५७० मिलिमिटर वर्षा भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमेश जोशीका अनुसार बाढी प्रभावित ४६६ घरधुरीका एक हजार ६२२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुवानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो।
उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ।
अविरल वर्षाका कारण अझै बस्तीहरू डुवानमा पर्नेक्रम बढिरहेको बताइएको छ ।
यस्तै जिल्लाको कृष्णपुरका एक बालकको घर डुवानमा परेपछि मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–१ मोतीपुरका ७ महिने बालक सोलु धानुकको घरमा पानी पसेपछि मृत्यु भएको छ ।
घरभित्रै झ्यालमा सुतिरहेका उनको पानीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।










