कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि


चेन्नई ।   सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कोलकाताले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदरावादले दिएको ११४ रनको सानो लक्ष्य कोलकाताले १०।३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएलको उपाधि जितेको थियो। २०२१ मा फाइनलमा पुगे पनि टोली उपाधिबाट वञ्चित रह्यो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनलाई रहमानउल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाएर राम्रो साथ दिए । हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८।३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन बनाए । नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोलकाताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे । उनले पावर प्लेमा दुई विकेट लिए र हैदरावादलाई सुरुमै झटका दिए । उनले ३ ओभरमा १४ रन मात्र खर्चे ।

त्यस्तै आन्द्रे रसेलले ३ र हर्षित रानाले २ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको