काठमाडौं, जेठ १० । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी नदी किनारमा मृत बाघ फेला परेको छ ।
बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । उनले भने, ‘विनयी खोलामा बाघले पानी पिइरहेको देखेको खबर पाएको थियो र पानी पिइरहेको ठाउँबाट १०–१२ मिटर हिडेपछि बाघ ढलेको अवस्थामा भेटिएको थियो । “स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।”
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बाघको पछाडिको भागमा जङ्गली जनावरको टोकाइले जस्तै चोट लागेको बताए । मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने उनले जानकारी दिए । बर्दघाट सुस्तापूर्वमा गएको फागुनयता योसहित तीन दुर्लभ बाघको मृत्यु भएको छ ।










