महोत्तरी — महोत्तरीको बर्दिवासका दुई छुट्टाछुट्टै बलात्कार घटनाका दुई आरोपी पक्राउ परेका छन् । बर्दिवास नगरपालिका(१ की ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला(१० लालगढ घर भई हाल बर्दिवास बस्ने ५७ वर्षका श्याम कार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार एक मानसिक सन्तुलन ठीक नभएकी २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा बर्दिवास(११ खयरमाराबाट ४५ वर्षका सोमबहादुर थिङलाई पनि प्रहरीले एकैदिन पक्राउ गरेको छ ।
जिल्लाको एकै पालिकाका एक बालिका र एक युवतीमाथि जबर्जस्ती करणी गरेको निवेदन आएपछि प्रहरीले सोमबार दुवै घटनाका आरोपीलाई पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ । ५७ वर्षका शारीरिकरुपमा अपांग रहेका आरोपित श्याम कार्किले छिमेकी बालिकालाई आफ्नै घरमा फकाईफुल्याई बलात्कार गरको आरोप परिवारजनले लगाएका छन् । त्यस्तै मानसिक सन्तुलन ठीक नभएकी २१ वर्षकी महिलाको घटना भने युवती गर्भवती भएको थाहा पाएपछि बलात्कार भएको खुलेको परिवारजनले बताएको छ ।
पक्राउ परेका कार्कीलाई ५ दिन र थिङलाई ४ दिनको म्याद जिल्ला अदालत महोत्तरीबाट थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गर्भवती भनिएकी युवतीको स्वास्थ्य परीक्षण गरी रिपोर्ट आउन बाँकी रहेको र बालिकाको भने स्वास्थ्य अवस्था अहिले सामान्य भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।
स्रोत कान्तिपुर दैनिक









