बर्दीबास । दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, टिकट नदिने, बीच बाटोमै यात्रुलाई अलपत्र पार्ने तथा दुर्व्यवहार गर्ने गुनासो बढ्न थालेको छ। यस्ता समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका यात्रु सहायता कक्ष यात्रुका लागि सहयोगी बनेका छन्।
दसैँका लागि घर फर्किने क्रममा धरान-बुटवल बसमा यात्रा गरिरहेका बाजुराका सौरभ मल्लसँग कन्डक्टरले निर्धारितभन्दा बढी भाडा मागेपछि उहाँले बर्दीबासस्थित यात्रु सहायता कक्षमा गुनासो गर्नुभयो। कन्डक्टरले मल्लसँग २ हजार २०० रुपैयाँ भाडा मागेका थिए। मागेजति रकम नदिए बीच बाटोमै उतारिदिने धम्की दिएपछि विवाद भएको थियो।
बर्दीबास पुगेपछि मल्लले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेपछि सोधपुछका क्रममा कन्डक्टरले उक्त दूरीको निर्धारित भाडा १ हजार ८०५ रुपैयाँ मात्र भएको स्वीकार गरेका थिए। त्यसपछि अन्य यात्रुसँग लिएको बढी भाडासमेत फिर्ता गर्ने र जथाभावी भाडा असुले कारबाही गर्ने चेतावनी दिएपछि विवाद समाधान भएको थियो।
त्यस्तै, काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेका भोजपुरका मन्दिप भुजेललाई शनिबार मध्यरातमा एउटा हाइसले बर्दीबासमा ल्याएर अलपत्र पारेको थियो। चालकले बर्दीबासबाट पूर्वतर्फ जाने अर्को गाडीमा चढाइदिने भन्दै ल्याएका भुजेललाई बीच बाटोमै झारेर हाइस अन्यत्र गएको थियो। टिकटसमेत नदिइएकाले मध्यरातमा कहाँ जाने भन्ने अन्योलमा परेका भुजेलले आइतबार बिहान बर्दीबासस्थित यात्रु सहायता कक्षमा पुगेर सहयोग मागेका थिए।
घटनाबारे जानकारी पाएपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले पश्चिमबाट इटहरीतर्फ जाँदै गरेको बस रोकेर भुजेललाई त्यसमा चढाइदिएका थिए।
दसैँमा यात्रुको चापसँगै देखिने यस्ता समस्या नियन्त्रण गर्न यात्रु सहायता कक्ष प्रभावकारी माध्यम बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभयो।
कार्कीका अनुसार दसैँलगायत प्रमुख चाडपर्वलाई लक्षित गरी जिल्लाको बर्दीबास, गौशाला, सम्सी र जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैँ नजिकिँदै जाँदा ती कक्षमा समस्या लिएर आउने यात्रुको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो।
‘सहायता कक्षमार्फत अलपत्र परेका यात्रुको गुनासो सुन्ने, बढी भाडा लिने, बीच बाटोमै यात्रु झार्ने, टिकट नदिने तथा सवारीसाधनमा कालोबजारी गर्नेजस्ता अवाञ्छित कार्यको निगरानी तथा नियन्त्रणका लागि चौबीसै घण्टा सेवा दिइएको छ,’ कार्कीले भन्नुभयो।
यता, यातायात व्यवसायी सीताराम ढुङ्गेलले चाडपर्वका बेला एकतर्फी यात्रु मात्र पाइने समस्याका कारण यातायात व्यवसायीलाई सञ्चालन खर्च व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो। उहाँका अनुसार बर्दीबास–काठमाडौँ रुटमा ठूला बसको भाडा १ हजार ५० रुपैयाँ र साना सवारीसाधनको भाडा १ हजार २०० रुपैयाँ लिने सहमति भएको छ।
तर, सहमतिमा उल्लेख भएभन्दा कम भाडा लिइरहेको दाबी गर्दै ढुङ्गेलले भन्नुभयो, ‘सहमति भए पनि अहिलेसम्म हामीले हजार रुपैयाँ मात्र भाडा लिएका छौँ।’











