महोत्तरीसहित मिथिलामा जितिया पर्व सम्पन्न


महोत्तरी । सन्तानको दीर्घायु, सुख-शान्ति र पारिवारिक कल्याणको कामना गर्दै महोत्तरीसहित मिथिला क्षेत्रमा महिलाले मनाउने जितिया पर्व आइतबार धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको छ।

आश्विन कृष्ण अष्टमीका दिन मनाइने जितिया पर्वमा व्रतालु महिलाले निराहार तथा निर्जल उपवास बसेर भगवान् जिमुतवाहनसँगै चिल र स्यालको पूजा गर्ने परम्परा छ। मिथिलाञ्चलमा जितियालाई अत्यन्त पवित्र तथा कठिन व्रतका रूपमा लिइन्छ।

तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ खाएर महिलाले व्रत सुरु गरेका थिए। शनिबार दिनभर पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार स्नान तथा पूजापाठ गरी व्रत समापन गरेका हुन्।

व्रतका क्रममा महिलाले भगवान् जिमुतवाहनको कथा श्रवण गर्ने परम्परा छ। स्थानीय चलनअनुसार ज्येष्ठ महिलाले कथा सुनाउने र तन्नेरी महिलाले श्रवण गर्ने गर्छन्। व्रत बस्नुअघि ‘ओगटन’ गर्ने तथा व्रतका क्रममा चिल र स्यालको कथा सुन्ने चलन रहेको पण्डित इन्द्रकान्त झा शास्त्रीले बताए।

जितिया पर्वमा घरको आँगनमा गाईको गोबरले लिपपोत गरी सानो पोखरी बनाउने, पोखरीको डिलमा पाकडीको हाँगा गाड्ने तथा त्यसमा माटोको चिल र त्यसको मुनि स्यालको आकृति बनाएर पूजा गर्ने परम्परा छ। जलले भरिएको कलशमा कुशबाट बनाइएको जिमुतवाहनको प्रतीक राखी फलफूलसहित पूजा गरिन्छ।

धार्मिक मान्यताअनुसार जितिया व्रतको सम्बन्ध राजा शालिवाहनका पुत्र जिमुतवाहनसँग जोडिएको छ। जिमुतवाहनको व्रत र उपासनाबाट सन्तानको दीर्घायु हुने विश्वासका कारण महिलाले सन्तानको कल्याणका लागि यो व्रत बस्दै आएको बताइन्छ।

जितियासँग जोडिएको चिल र स्यालको कथाले व्रतको कठोरता र अनुशासनलाई झल्काउँछ। धार्मिक कथाअनुसार चिल र स्यालले जितिया व्रत बस्ने संकल्प गरेका थिए। तर स्यालले व्रतको नियम उल्लङ्घन गरेपछि त्यसको परिणाम सन्तानसँग जोडिएको कथामा उल्लेख छ। यही कारण जितिया पर्वलाई ‘खर जितिया’समेत भन्ने गरिन्छ।

व्रतको अघिल्लो दिन सधवा महिलाले माछा र कोदोको रोटी खाने परम्परा छ भने शाकाहारी महिलाले गम्हरीको खीर वा भात खाने गर्छन्। अष्टमीको बिहान स्नान तथा पूजापाठ गरेपछि व्रत सुरु गर्ने र भोलिपल्ट बिहान पूजा सम्पन्न गरी व्रत तोड्ने चलन छ।

जितिया पर्व थारू समुदायका महिलामाझ पनि उत्तिकै लोकप्रिय छ। थारू समुदायमा विवाहित महिलाले सन्तान तथा पतिको सुख-शान्तिको कामना गर्दै तीन दिनसम्म विभिन्न विधिसहित पर्व मनाउने गर्छन्। यस क्रममा चिल र स्यालको पूजा, जिमुतवाहनको कथा श्रवण तथा नाचगान गर्ने परम्परा रहेको छ।

मिथिला क्षेत्रमा जितियालाई दसैँ आगमनको संकेतका रूपमा समेत लिने गरिन्छ। स्थानीय जनजीवनमा प्रचलित ‘जितिया, दसैँ, दशमी’ भन्ने भनाइले जितियापछि क्रमशः दसैँ, दीपावली र छठ पर्व आउने सांस्कृतिक क्रमलाई जनाउँछ।

पछिल्लो समय जितिया सन्तानको कल्याणका लागि गरिने व्रतमा मात्र सीमित नभई महिला, परिवार, पितृ तथा सामाजिक सम्बन्धसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ। यस पर्वले मिथिलाको मौलिक संस्कृति, धार्मिक आस्था र महिलाको सामाजिक-सांस्कृतिक भूमिकालाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको