बर्दिबास। महोत्तरीको बर्दिबासस्थित जनता साहित्यिक मञ्च गौरीडाँडाको ३१औँ नियमित साहित्यिक शृङ्खला शुक्रबार सम्पन्न भएको छ।
मञ्चकी अध्यक्ष ईशा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रम मञ्चको माथिल्लो सदनले आयोजना गरेको हो। कार्यक्रमको सञ्चालन सचिव श्रेया कर्णले गर्नुभएको थियो भने उपाध्यक्ष शुभेच्छा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अतिथि शिक्षक दिपेन्द्र न्यौपानेले विद्यार्थीहरूलाई साहित्यप्रति रुचि राख्दै सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरित गर्दै यस्तो साहित्यिक मञ्च प्रतिभा विकासको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी अतिथि शिक्षक रामचन्द्र पौडेलले साहित्यलाई सिर्जनात्मक अभिव्यक्तिको उर्वर भूमि भन्दै विद्यार्थीहरूले यसलाई अवसरका रूपमा ग्रहण गरी निरन्तर सिर्जनामा सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
साहित्यिक शृङ्खलामा नेपाली तथा अन्य भाषामा कविता, मुक्तक लगायतका विविध साहित्यिक सिर्जनाहरू वाचन गरिएको थियो। सिर्जना वाचन गर्नेहरूमा रेनुका घिसिङ, सिम्रन कर्ण, राहुल यादव, निक्की महतो, अशोक यादव, रोहन ढकाल, होमबहादुर कार्की, उपलक्ष दाहाल, रामनाथ महतो, सृष्टि वराल, अनिलकुमार साह, सुनिता आपगाई, प्रतिज्ञा वराल, सुरुचि चौधरी, अमिसा माझी, मुस्कान सिंह, श्रेया कर्ण, शुभेच्छा घिमिरे र ईशा काफ्लेलगायत सहभागी थिए।
कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ईशा काफ्लेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, सहभागी तथा सम्पूर्ण उपस्थितप्रति आभार व्यक्त गर्नुभयो।









