पर्सा। वीरगन्जस्थित देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य सुरु भएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा रंगशालाको पुनर्निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन भएपछि बिहीबारदेखि काम सुरु गरिएको हो।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुका अनुसार पहिलो चरणमा जीर्ण अवस्थामा रहेका प्यारापिटहरू डोजर लगाएर भत्काउने काम थालिएको छ। उनले पुराना संरचना हटाएर नयाँ प्यारापिट निर्माण गर्ने योजना रहेको बताए।
कानुका अनुसार तत्कालीन सरकारका कानुनमन्त्री अजय चौरसियाको पहलमा र तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले चार करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए। सोही बजेट निकासा भएपछि पुनर्निर्माण कार्य अघि बढाइएको हो।
उनले चार करोड रुपैयाँले सम्पूर्ण मर्मत तथा पुनर्निर्माण कार्य पूरा गर्न नपुग्ने भएकाले अहिले प्राप्त बजेटबाट प्यारापिट निर्माण गर्ने र बाँकी कामका लागि थप बजेट माग गर्ने तयारी रहेको बताए। साथै युवा तथा खेलकुद मन्त्रालय र मधेस प्रदेश सरकारसँग पनि थप बजेटका लागि पहल गरिने उनले जानकारी दिए।
करिब ३५ हजार दर्शक क्षमताको नारायणी रंगशाला लामो समयदेखि मर्मतसम्भार अभावमा जीर्ण अवस्थामा पुगेको थियो। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो मानिने यो रंगशालामा एक दशकअघि सम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएका थिए।
२०४२ सालमा निर्माण भएको उक्त रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले गरेका थिए। अहिले पुनर्निर्माण सुरु भएसँगै स्थानीय खेलप्रेमी र खेलाडीहरूमा रंगशाला पुनः सञ्चालनमा आउने आशा बढेको छ।









