सप्तरी युथद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा नगद सहयोग


२४ पुष, राजविराज, सप्तरी – चन्दन रजक। विष्णुपुर गाउँपालिका–६ रंजितपुरका विपन्न परिवारका दिनेश सदाकी आमाको क्रियाखर्च तथा परिवारको दैनिकी सहज बनाउन सप्तरी युथले खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ।

सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव र समाजसेवी विष्णु यादवको अगुवाइमा सदा परिवारलाई चामल, दाल, तेल, नुन, चिउरा, मुरहीलगायतका आवश्यक खाद्यान्न सामग्री सहयोग स्वरूप हस्तान्तरण गरिएको हो।

यसैगरी, घरमा हजुरआमाको स्याहार गर्दै आएकी नातिनी चिसोका कारण प्यारालाइसिसको शिकार भई उपचाररत रहेकाले उनको उपचार सहयोगका लागि समाजसेवी विष्णु यादवले २ हजार ५ सय रुपैयाँ नगदसमेत सहयोग गरेका छन्।

करिब दुई साताअघि दिनेश सदाकी आमा बिरामी हुँदा हेरचाह गर्ने क्रममा उनकी कान्छी छोरी चिसोका कारण प्यारालाइसिस भएपछि उपचार गराइँदै आएको थियो। छोरीको उपचारकै बीच आमाको निधन भएपछि परिवार थप शोक र आर्थिक संकटमा परेको थियो।

छोरीको उपचार खर्च र आमाको क्रियाखर्च जुटाउन कठिनाइ भइरहेको अवस्था समाचारमार्फत सार्वजनिक भएपछि विभिन्न सहयोगी हातहरू अघि बढ्दै आएका छन्। यसअघि गाउँपालिका अध्यक्ष उमेश यादवले पनि प्रथम चरणमा १० हजार रुपैयाँ आर्थिक सहयोग घरमै पुगेर प्रदान गरेका थिए।

स्थानीय सामाजिक संघसंस्था र व्यक्तिहरूको यस प्रकारको सहयोगले विपन्न परिवारलाई ठूलो राहत मिलेको पीडित परिवारले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको