बर्दिवासमा eSewa द्वारा डिजिटल सचेतना तथा वित्तीय सशक्तीकरण कार्यक्रम सम्पन्न


१५ पुस, महोत्तरी – मिथलेश सिंह। महोत्तरीको बर्दिवासमा eSewa ले डिजिटल सचेतना तथा वित्तीय सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। बर्दिवासस्थित होटल रेड क्राउनमा आयोजना गरिएको कार्यक्रममा eSewa का मर्चेन्ट, व्यवसायी तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

डिजिटल कारोबारलाई सुरक्षित, सरल र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा डिजिटल फ्रड (ठगी) बाट जोगिने उपाय, सुरक्षित डिजिटल कारोबार गर्ने तरिका, ओटीपी तथा पासवर्डको गोपनीयता, शंकास्पद लिंक र कलबाट बच्ने उपायहरूबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा eSewa तथा eSewa Fonepay प्रयोग गरी नगदरहित कारोबारलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ, ग्राहकहरूलाई डिजिटल भुक्तानीतर्फ कसरी आकर्षित गर्ने, तथा डिजिटल कारोबारले व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउन कसरी सहयोग गर्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

यसैगरी, साना-साना बचतमार्फत दीर्घकालीन वित्तीय लाभ लिन सकिने उपायहरूबारे सहभागीहरूलाई जानकारी दिइयो। दैनिक बचतलाई IPO तथा ISP जस्ता लगानी प्लेटफर्ममार्फत भविष्यमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयका साथै, थोरै रकमबाट पनि eSewa मा उपलब्ध बीमा उत्पादन प्रयोग गरी स्वास्थ्य तथा जीवनसँग सम्बन्धित जोखिमबाट सुरक्षा लिन सकिने विषयमा सचेत गराइएको थियो।

कार्यक्रममा eSewa र Citizens Bank को सहकार्यमा उपलब्ध Easy Loan सेवाबारे पनि जानकारी दिइएको थियो। सहभागीहरूलाई eSewa मा भएको कारोबारको आधारमा कुनै वित्तीय कागजात पेश नगरी, झन्झट बिना केही सेकेन्डमै Easy Loan लिन सकिने सुविधाबारे जानकारी दिइएको हो। यस सेवाले विशेषगरी मर्चेन्ट तथा साना व्यवसायीहरूको तत्काल आर्थिक आवश्यकतामा सहज समाधान दिने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रशिक्षकमा eSewa प्रधान कार्यालयबाट आउनुभएका प्रवीण सत्याल तथा आउटरीच अफिसरहरू आदित्य मिश्र र देव श्रेष्ठ रहनुभएको थियो। प्रशिक्षकहरूले सुरक्षित डिजिटल कारोबार, वित्तीय पहुँच र डिजिटल सशक्तीकरणमार्फत आर्थिक समावेशीकरणलाई अघि बढाउन eSewa निरन्तर प्रतिबद्ध रहेको बताएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता डिजिटल तथा वित्तीय सचेतनामूलक कार्यक्रमहरूले आफ्नो व्यवसाय र व्यक्तिगत आर्थिक व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै eSewa को पहलप्रति प्रशंसा गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको