बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा सातौँ शृङ्खला सम्पन्न


१३ पुस, बर्दिवास (महोत्तरी) – जीवनराज दाहाल। साहित्य, सृजना र ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई एउटै सूत्रमा बाँध्दै बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा सातौँ शृङ्खला २०८२ साल पुस १२ गते शनिबार बर्दिवासमा सफलतापूर्वक सम्पन्न भएको छ।

समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षतामा तथा बुढ्यौली साहित्य समाजका अभियन्ता रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव नारदप्रसाद काफ्लेले गरेका थिए भने सदस्य मोहन गिरीले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई आत्मीय स्वागत गरेका थिए।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज मधेस प्रदेश समिति सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल, नेपाली लेखक सङ्घ नेपाल केन्द्रीय सदस्य कुमार दाहाल, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक तथा साहित्य अनुरागी नेत्र रम्तेल, बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा जनता साहित्यिक मञ्च गौरीडाँडाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

साहित्यिक शृङ्खलाअन्तर्गत कविता, गीत, गजल र मुक्तक वाचनले सभाहललाई भावनाले भरिएको बनाएको थियो। स्रष्टाहरू स्मृति भण्डारी, शान्ता काफ्ले, केदार सिक्देल, अम्बिका प्रसाद दाहाल, शिवनाथ महतो, ध्रुव बख्रेल, रामकृष्ण भण्डारीलगायतले आफ्ना सिर्जना वाचन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश मोहन अधिकारीले बुढ्यौली साहित्य समाजको स्थापना उद्देश्य, नीति र योजनामाथि प्रकाश पार्दै ज्येष्ठ नागरिकप्रति सम्मान र साहित्यिक चेतनाको विकासमा समाजले खेलेको भूमिकाको प्रशंसा गरे। समाजले निरन्तर सक्रियता देखाएकै कारण गत कार्तिक महिनामा शिव सावित्री प्रतिष्ठानबाट सम्मान प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त यात्राको शुभेच्छा व्यक्त गरे।

खुला सत्रको समापन गर्दै अध्यक्ष लालबाबु पोखरेलले उपस्थित सम्पूर्ण अतिथि तथा साहित्यप्रेमीप्रति आभार व्यक्त गर्दै कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले समितिको विघटन गरिएको जानकारी गराए। साथै बन्दसत्रका लागि बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेको संयोजकत्वमा रमेश मोहन अधिकारी र रामचन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको घोषणा गरे।

बन्दसत्रमा निर्वाचन समितिको आह्वानपछि सदनबाट सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरिएको थियो। नवगठित कार्यसमितिअनुसार अध्यक्षमा लालबाबु शर्मा पोखरेल, उपाध्यक्षमा बोधराज दाहाल र सचिवमा सुदर्शन भट्टराई चयन भएका छन्। सदस्यहरूमा मोहन गिरी, देवी घिमिरे, नारद काफ्ले र शान्ता काफ्ले रहेका छन्।

नवगठित कार्यसमितिलाई प्रमुख तथा विशिष्ट अतिथिहरूले टीका र खादा लगाएर सम्मान गरेका थिए। अध्यक्ष पोखरेलले पुनः जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समाजलाई अझ सक्रिय, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक लम्बोदर काफ्लेले नवगठित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरे। कार्यक्रम जनता माध्यमिक विद्यालय गौरीडाँडा, बर्दिवास-३ को सभाहलमा सम्पन्न भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको