जनमत पार्टी अध्यक्ष डा. सिके राउतद्वारा पाँच किलोमिटर सडक शिलन्यास, आवागमन सहज हुने विश्वास


राजविराज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक प्रादेशिक निर्वाचन क्षेत्र-एक सडक कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नं. १२ र १३ जोड्ने सिगियौन-खाँडो नदी हुलाकी सडकको सोमबार शिलन्यास गर्नुभएको छ।

प्रदेश सरकारको कुल १५ करोड ६८ लाख ३३ हजार ३ सय ४१ रुपैयाँ ४९ पैसा लागतमा निर्माण हुने उक्त सडकका लागि डि एण्ड एस केभी जेभी, काठमाडौं सँग २०८२ असार २० गते सम्झौता भएको हो। सम्झौता अनुसार सडक निर्माण कार्य २०८४ असार १९ गतेभित्र सम्पन्न हुने पूर्वाधार विकास कार्यालय सप्तरी राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो।

उहाँका अनुसार सडक वस्ती क्षेत्रमा ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइमा कालोपत्रे गरिनेछ। एक प्रादेशिक निर्वाचन क्षेत्र-एक पाँच किलोमिटर सडक योजनाअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ (२) का लागि यो सडक निर्माण सुरु गरिएको हो।

सडक निर्माणपछि स्थानीयको आवागमन सहज हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

शिलन्यास कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जयकान्त राउत, मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविण, पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झा, जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साह, प्रचार-प्रसार प्रमुख उपेन्द्र साह, जसपा नेपालका नेता लक्ष्मण यादव, विभिन्न वडाध्यक्ष, राजनीतिककर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको