१८ मंसिर, बर्दिबास – मिथलेश सिंह। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा प्रशासनिक अधिकृतहरूको सरुवा भएर नयाँ असाइनमेन्ट सम्हाल्नु भएका अवसरमा बर्दिवासमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रम-२०८२ उत्साहपूर्वक सम्पन्न भएको छ।
बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम बर्दिवास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ महोत्तरी, बर्दिवास मेकानिकल इन्जिनियरिङ एण्ड मोटर पार्ट्स सङ्घ तथा लायन्स क्लब अफ बर्दिवास समाजको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव रहेका थिए। साथै राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख चन्दन झा, इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधव राज न्यौपाने, सोनमा गाउँपालिकाका अध्यक्ष श्रीदेव यादव, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्की, इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अभिषेक चन्द र विनय सिंहलाई आयोजक टिमले विशेष सम्मान तथा स्वागत अर्पण गरियो।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले सहकार्य र समन्वयको माध्यमबाट प्रदेश तथा जिल्लाको विकासमा सबैको साझा भूमिका रहने बताए।
कार्यक्रममा विभिन्न सङ्घ-संस्थाका पदाधिकारी, व्यवसायी, पत्रकार, समाजसेवी तथा अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले जिल्लामा देखिएका समस्या, सुधारको आवश्यकता तथा भावी योजनासम्बन्धी प्रत्यक्ष सुझाव र प्रश्नहरू राखेका थिए, जसका सबै जवाफ प्रमुख जिल्ला अधिकारी यादवले तत्परता साथ प्रस्तुत गर्दै आगामी कार्ययोजनाबारे स्पष्ट धारणा राखे।
समापन मन्तव्यका क्रममा सभाध्यक्ष विष्णुबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीलाई जनअपेक्षा अनुरूप योजनाहरू बनाउन अनुरोध गर्दै अतिथिहरू तथा आयोजक टिमप्रति धन्यवाद व्यक्त गरे।









