सिरहा। लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाका दुई फरक स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
पहिलो घटनामा, मिति २०८२ साल कात्तिक २६ गते साँझ करिब ६ बजे सिरहा नगरपालिका–१ स्थित क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
उक्त क्रममा स (११) च ५४८५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७, पटेर्वाका २५ वर्षीय रामजिवन यादव र २७ वर्षीय दीपक कुमार यादव रहेका छन्। प्रहरीले यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ २४ ग्राम ८२० मिलिग्राम तौल भएको अवस्थामा बरामद गरेको छ। साथै, उनीहरूको साथबाट तीन थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको छ।
दोस्रो घटनामा, सोही दिन दिउँसो करिब ३:३० बजे इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डीबाट जगतपुरतर्फ जाने बाटोमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स (१०) प ५३२६ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
उक्त मोटरसाइकल चालक सिरहा नवराजपुर गाउँपालिका–१ का २० वर्षीय ऋषि कुमार यादवको साथबाट डाईजोपाम ५ एम्पुल, प्रोमेथाजिन ५ एम्पुल र ब्रुफेनफाइन ५ एम्पुल फेला परेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार सिरहा भगवानपुर गाउँपालिका–५ का १८ वर्षीय देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम १ एम्पुल र एक थान सिरिन्ज बरामद गरिएको हो।
दुवैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










