जनकपुरधाम। मधेश प्रदेशको राजनीति सोमबार बिहानैदेखि गम्भीर विवाद र आलोचनामा फँसेको छ। ‘जनकपुरमा अवस्था सहज थिएन’ भन्ने कारण देखाउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात सिन्धुली-महोत्तरी सिमानाको होटलमा एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी छन्। तर यो कदमलाई राजनीतिक वृत्तले असंवैधानिक, गुप्त र जनताको विश्वासमाथिको प्रहार भन्दै कडा आपत्ति जनाएको छ।
भण्डारी सोमबार बिहान ४ बजे ‘बिरामी छु, काठमाडौं जाँदैछु’ भन्दै जनकपुरस्थित निवासबाट निस्केकी थिइन् । तर उनी काठमाडौँ नजाँई बीचमै सिन्धुली नजिकको होटलमा पुगिन् र त्यहीँ बिहान ५ बजेर २० मिनेटमा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथ गराइन्।
राजनीतिक विश्लेषकहरू भन्छन् – “जनकपुर सहज थिएन” भन्ने बहाना केवल नाटक हो, वास्तविक उद्देश्य भने प्रदेशको सत्ता एमालेतर्फ फर्काउने पूर्वनियोजित योजना थियो । जनकपुरमा विरोधको डरले लोकतान्त्रिक प्रक्रिया होटलमा लुकाएर गरिनु ‘संवैधानिक अपमान’ र ‘संस्थागत अपारदर्शिता’को चरम उदाहरण भएको उनीहरूको टिप्पणी छ।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले भण्डारीमाथि कडा प्रहार गर्दै भनेका छन्, “स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले प्रदेशको अस्मिता बिक्री गरिन्। जनताको म्यानडेटलाई रातको अँध्यारोमा सौदाबाजी गरेर मिचियो।”
नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा, जनमत र नेकपा (एस) लगायत दलहरूले पनि भण्डारीको कदमलाई संविधानको धारा १६८ को खुला दुरुपयोग र नैतिक पतन को रूपमा व्याख्या गरेका छन्।
जनकपुरका नागरिकहरू सामाजिक सञ्जालमा लेखिरहेका छन् – “जनताको मन्दिरमा शपथ लिन नसक्ने मुख्यमन्त्री कस्तो जनप्रतिनिधि? होटलको कोठामा जनमतको खेल किन ?”
राजनीतिक विश्लेषकहरू भन्छन्, मधेशको इतिहासमा यो घटना लोकतान्त्रिक अभ्यासको सबैभन्दा काला पृष्ठहरू मध्ये एक बन्न सक्छ।
लोकतन्त्रका नाममा होटलभित्र शपथ, जनकपुरमा विरोध – यही हो मधेशको वर्तमान राजनीतिक वास्तविकता









