जीवनराज : बर्दिवास, महोत्तरी ।
एसईई परीक्षा सकेर उच्च शिक्षा हासिल गर्ने तयारीमा रहेका विद्यार्थीहरूका लागि बर्दिवासमा छात्रवृत्तिको सुनौलो अवसर खुलेको छ। पदम-शमशेर स्मृति प्रतिष्ठानले बर्दिवास नगरपालिका भित्रका कक्षा ११/१२ तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यो वर्ष पनि छात्रवृत्ति वितरण गर्ने घोषणा गरेको हो।
आर्थिक रूपमा कमजोर, असहाय, जेहेन्दार र उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने छ। प्रत्येक माध्यमिक विद्यालयबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले २०७७ सालदेखि निरन्तर रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ। यस अवधिसम्म समाजसेवी विष्णु खड्काको अगुवाइमा ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ३४ जना विद्यार्थीले यस अभियानबाट लाभ उठाइसकेका छन्।
छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले फाराम आफ्नै विद्यालयमार्फत प्राप्त गर्न सक्नेछन्। आवेदनको अन्तिम मिति आगामी २०८२ साल कार्तिक २० गते तोकिएको छ।









