छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै, ब्रतालुहरू साँझ खीर प्रसाद ग्रहण गर्नेछन्


बर्दिबास, महोत्तरी। आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ। आज दिनभर निराहार बसेका ब्रतालुहरूले साँझ चामल, दूध र सक्खर मिसाइ पकाइने खीर (रसियन)लाई प्रसादका रूपमा ग्रहण गर्दै खरना सम्पन्न गर्छन्। उक्त प्रसाद घरका सबै सदस्यले साझा रूपमा ग्रहण गर्ने तथा पर्व नभएका छिमेकी घरहरूमा पनि वितरण गर्ने परम्परा छ।

चार दिनसम्म मनाइने यो पर्व सन्तान तथा पारिवारिक सुख–समृद्धिको कामनासहित हिजो शनिबार ‘नहाय–खाय’ विधिद्वारा सुरु भएको थियो। सो दिन ब्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै आगामी कठोर उपवासको तयारी गरेका थिए।

भोलि सोमबार छठको तेस्रो तथा मुख्य दिन साँझ सूर्यास्तको समयमा नदीनाला, तलाउ वा पोखरी किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ। मंगलबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

छठमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार, हाँडीलगायत सामग्री प्रयोग गरिन्छ। प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल चढाउने चलन रहेको छ।

अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा छ। सबै परिकार र पूजाका सामग्री पूर्ण शुद्धता तथा नियम–निष्ठाका साथ तयार गर्नुपर्ने भएकाले छठलाई अत्यन्त पवित्र र कठोर पर्वका रूपमा मानिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको