विराटनगर – मोरङको लेटाङमा दुई सातादेखि बेपत्ता भएकी एक बालिकाको शव शुक्रबार जंगलभित्र वीभत्स अवस्थामा फेला परेको छ। लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव बेलबारी–चिसाङ साझेदारी वनक्षेत्रभित्र भेटिएको प्रहरीले जानकारी दिएको छ। उक्त वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा फेला परेको हो। शव कुहिएको र वरिपरि दुर्गन्ध फैलिएको अवस्था रहेको उनले बताए। स्थानीयवासी घाँस काट्न गएका बेला शुक्रबार दिउँसो करिब १ः३० बजे शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र स्वयं एसपी कटवालसहितको टोली घटनास्थल पुगेको थियो।
अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी थिइन्। परिवार, स्थानीय र प्रहरीले लगातार खोजी गरे पनि उनी भेटिएकी थिइनन्। दुई सातापछि जंगलमा भीषण अवस्थामा शव भेटिएपछि स्थानीयवासी स्तब्ध बनेका छन्।
घटनास्थलबाट अंशुका कपडासहित केही सामग्री फेला परेको प्रहरीले जनाएको छ। यस आधारमा प्रहरी बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंकामा छ। ‘शवको अवस्था डर लाग्दो छ। प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग भएको देखिन्छ। तर जंगली जनावरको आक्रमणको पनि संभावना छ,’ एसपी कटवालले भने। उनका अनुसार विस्तृत तथ्य पोस्टमार्टम र फरेन्सिक रिपोर्टपछि मात्रै पुष्टि हुनेछ।
लेटाङ-२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। ‘दुर्वस्थ अवस्थामै शव भेटिएको खबरले पूरै गाउँ स्तब्ध छ। परिवारको अवस्था पनि सामान्य छ,’ उनले बताए।
स्थानीयवासीले यो घटना योजनाबद्ध हत्या भएको भन्दै दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई कानुनी कारबाही गर्न माग गरेका छन्। ‘पहिले खोज्दा केही नदेखिएको, तर पछि जंगलमा यस्तो अवस्थामा भेटिनु गम्भीर घटना हो,’ वडाध्यक्ष तिम्सिनाले भने।
प्रहरीले घटनास्थल वरिपरिका बासिन्दा र सम्भावित व्यक्तिहरूको बयान लिँदै विस्तृत अनुसन्धान अघि बढाएको छ। शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ।
एसपी कटवालले भने, ‘पोस्टमार्टम र फरेन्सिक रिपोर्टपछि मात्र घटनाको वास्तविक प्रकृति स्पष्ट हुन्छ। यो गम्भीर अपराधको संकेत गर्ने घटना भएकाले सबै कोणबाट अनुसन्धान भइरहेको छ।’









