तोपामा सडक मर्मतको माग गर्दै स्थानीयद्वारा चक्का जाम


सप्तरी- चन्दन रजक। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा क्षेत्रका स्थानीयवासीहरूले जीर्ण बनेको सडक तत्काल मर्मत गर्न माग गर्दै आज बिहानदेखि चक्का जाम गरेका छन्।

स्थानीयका अनुसार तोपाको मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा खाल्डाखुल्डी र बाक्लो धुलोले सवारीसाधन सञ्चालनमा समस्या उत्पन्न भएको छ। धुलोका कारण बालबालिका, वृद्धवृद्धा र यात्रुहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत पर्ने यो भागमा सडक अत्यन्तै जीर्ण अवस्थामा पुगेको र दैनिक आवतजावत जोखिमपूर्ण बनेको स्थानीय युवा भगवानलाल यादवले जानकारी दिए। उनका अनुसार, सडक मर्मत नहुँदा सवारीसाधन बिग्रने, यात्रुहरूलाई धुलो सहन नसक्ने अवस्था र दुर्घटनाको जोखिम समेत बढेको छ।

आन्दोलनकारीहरूले तत्काल सडक मर्मत सुरु नगरे थप कठोर कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले सम्बन्धित निकायलाई सडक मर्मत कार्यलाई प्राथमिकतामा राखी शीघ्र सुधारात्मक पहल गर्न आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको