महोत्तरी प्रलेसले मनायो ११७औँ देवकोटा जयन्ती


✍️ जीवनराज : महोत्तरी, २०८२ कार्तिक ३

प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल शाखा महोत्तरीले नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ ।

प्रलेस महोत्तरीका अध्यक्ष विपुल विद्रोहीको अध्यक्षता र बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रलेस महोत्तरीका सचिव नारद काफ्ले (विश्वास अभियान)ले सञ्चालन गरेका थिए ।

कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक योगदानमाथि प्रगतिशील साहित्य सर्जक एवम् प्रलेस मधेस प्रदेश समिति सचिव भिमकुमार राउतले विस्तृत परिचर्चा गरेका थिए ।
त्यस्तै, शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा प्रलेस नेपालका केन्द्रीय सदस्य विमल विश्वकर्मा, मधेस प्रदेश समिति अध्यक्ष नारायण घिमिरे, बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल महोत्तरीका अध्यक्ष बेल बहादुर परियार, बर्दिबास नेवा समाजका अध्यक्ष धननारायण श्रेष्ठ, प्रधानाध्यापक अम्बिका प्रसाद दाहाल, मगही भाषा अभियान्ता नवलकिशोर महतो, प्रअ सुदर्शन भट्टराई, सारङ्गी बादक एवम् प्रशिक्षक सुमन सारङ्गी लगायत थिए ।

त्यसैगरी बर्दिबास उद्योग सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठ, विश्व नेपाली साहित्य महोत्तरीका अध्यक्ष उद्धव अविचल, बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम र जुनकीरी साहित्य समाजका अध्यक्ष राजेश भण्डारी अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा सुमन सारङ्गीको बेजोड साङ्गीतिक प्रस्तुतिले माहोल उत्साहपूर्ण बनेको थियो । गायक द्वय बेल बहादुर परियार र धननारायण श्रेष्ठको गायनले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

देवकोटाका केही कवितासँगै उहाँलाई समर्पित सिर्जनाहरू पनि वाचन गरिएको कार्यक्रममा विपिन विक, राजेश भण्डारी, प्रिन्स चौधरी, ईश्वर खतिवडा, शिवम खतिवडा, नारद काफ्ले र सन्ध्या खतिवडाले कविता, गीत तथा मुक्तक प्रस्तुत गरेका थिए । घनश्याम न्यौपाने पनि कार्यक्रममा उपस्थित थिए ।

प्रमुख अतिथि विष्णु खड्काले देवकोटा जस्ता महान साहित्यकारको योगदानको स्मरण गर्नु निकै सराहनीय कार्य भएको बताउँदै बर्दिबासमा यस्ता साहित्यिक कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा जोड दिए ।

अन्त्यमा सभाध्यक्ष विपुल विद्रोहीले प्रमुख अतिथि, अतिथि तथा सहभागी सबैप्रति आभार प्रकट गर्दै, प्रलेस महोत्तरीले आगामी दिनमा पनि यस्तै रचनात्मक र साहित्यिक गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम बर्दिबास उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको थियो, जसको हल उपलब्ध गराएकोमा प्रलेस महोत्तरीले सङ्घप्रति विशेष धन्यवाद व्यक्त गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको