सप्तरीमा छोटी भन्सार बन्द, कर्मचारी अभाव र कानुनी जटिलताका कारण राजस्व संकलन प्रभावित


राजविराज- चन्दन रजक। सप्तरीका अधिकांश छोटी भन्सार कार्यालय बन्द हुँदा र कर्मचारी अभावसँगै कानुनी जटिलता तथा मुल भन्सारसम्म पुग्ने बाटोघाटाको समस्या रहँदा जिल्लाको राजस्व संकलन तीन महिना बितिसक्दा पनि खासै बढोत्तरी हुन सकेको छैन।

पूर्वमा कोशी नदीदेखि पश्चिममा बलान नदीसम्म करिब ७८ किलोमिटर लामो नेपाल–भारत खुला सिमानाका रहेको सप्तरीमा राजविराजस्थित एक मात्र मुल भन्सार कार्यालय अन्तर्गत आठ वटा छोटी भन्सार रहेका छन्। तर तीमध्ये अहिले केवल दुईवटा मात्रै सञ्चालनमा छन्।

बलानविहुल गाउँपालिका–४ बेल्हीस्थित छोटी भन्सारमा हाल एक मात्र नायब सुब्बा कार्यरत छन्। कर्मचारी अभाव र कानुनी जटिलताका कारण सो भन्सारबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरायसी सरसामान मात्र समावेश गरी जम्मा २ लाख ८९ हजार ५५२ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यरत कर्मचारीका अनुसार कानुनी सीमाले गर्दा एक व्यक्तिबाट अधिकतम ५ देखि १० हजार रुपैयाँसम्म मात्रै राजस्व लिन सकिने बाध्यता छ।

बेल्ही भन्सारका स्थानीय व्यवसायी बिरेन्द्र कुमार चौधरीका अनुसार व्यवसाय गर्न निकै जोखिम मोल्नुपरेको छ। उनले भने, “दैनिक मोटरसाइकलमा एकदेखि सवा क्विन्टलसम्म तरकारी लोड गरेर बेच्न जान्छु, बाध्य भएर यसरी गर्नुपरेको हो। यदि राजस्व सीमा बढाइदिए भने हामीले चारपाङ्ग्रे सवारी प्रयोग गरेर सहज रूपमा व्यवसाय गर्न सक्थ्यौं।”

त्यस्तै, स्थानीय व्यवसायी धनश्याम मण्डलले भने, “भन्सारमा कर्मचारी नभएपछि राजस्व तिर्न र सामान ओसार्न कठिन भएको छ। यसले व्यापार नै प्रभावित बनाएको छ।”

देवनारायण यादवले भने, “सरकारले भन्सार सञ्जाललाई व्यवस्थित बनाएर वैध व्यापारलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।”

हाल सञ्चालनमा रहेका दुई भन्सार डाक्नेश्वरी नगरपालिकाको पातो र बलानविहुल गाउँपालिकाको बेल्ही हुन्। तर हनुमाननगर, गोविन्दपुर, बनैनिया र कोदरकट्टीका भन्सार कार्यालयहरू लामो समयदेखि बन्द अवस्थामा छन्।

राजविराज भन्सार कार्यालयमा अघिल्लो वर्ष २२ जनाको दरबन्दी रहेकोमा हाल चार पद कटौती भएर १८ मात्र बाँकी छन्, तीमध्ये पनि कार्यरत १२ जना मात्रै छन्। करारमा दुई माली र दुई सवारी चालक मात्र नियुक्त छन्।

कर्मचारी अभावका कारण राजस्व संकलनसँगै अन्य प्रशासनिक कार्य पनि प्रभावित भएका छन्। चालू आर्थिक वर्षमा ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको यो कार्यालयले तीन महिना बितिसक्दा पनि बिगतको तुलनामा उल्लेख्य वृद्धि गर्न सकेको छैन।

स्थानीय व्यवसायीहरूले बेल्ही छोटी भन्सारबाट मासिक औसत ९१ लाख रुपैयाँ राजस्व उठ्ने सम्भावना देखाउँदै राजस्व संकलनको दायरा र सीमा वृद्धि गर्न सरकारसँग माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको