धनुषा। मिथिला बिहारी नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार (२०८२ असोज ३० गते) एक सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको निर्देशनअनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले स्वीकृत दरबन्दी बाहेक अस्थायी र करार सेवाका कर्मचारी राख्न नपाइने निर्णय भएपछि यो कदम चालिएको हो।
मन्त्रालयको पत्रका आधारमा जारी सूचनामा भनिएको छ, “स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करार सेवाका कर्मचारीहरूलाई तत्काल प्रभावबाट कार्यमुक्त गरिएको छ।”
नगरपालिकाले स्वास्थ्यकर्मी, शिक्षक र अन्य करार सेवाका पदमा कार्यरत कर्मचारीहरूको करार सम्झौता २०८२ असोज ३० गतेदेखि लागू हुने गरी रद्द गरिएको जनाएको छ।
नगर प्रमुख राजेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त सूचनामा, निर्णयका बारेमा सबै सम्बन्धित पक्षलाई जानकारी गराउन सार्वजनिक गरिएको उल्लेख गरिएको छ।











