बर्दिबासमा किन्नर समुदायमाथि कुटपिट, आक्रोशित समुदायले राजमार्ग अवरुद्ध


बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका-१ मा किन्नर (तृतीय लिङ्ग) समुदायका सदस्यमाथि व्यापारीहरूले दुव्र्यवहार र कुटपिट गरेको आरोपपछि बुधबार दिउँसो पूर्व-पश्चिम राजमार्ग केही घण्टा अवरुद्ध गरिएको छ।

घटना बर्दिबास-१ स्थित गौतम होटल अगाडिको किराना पसलमा भएको हो। सो पसलका सञ्चालक बिनोद कुमार रुवालीसँग बधाई (खुसीयाली) लिन पुगेका किन्नर समुदायका सदस्य सोनाली महतो र सोनिया सिंहमाथि वरिपरिका केही व्यक्तिले दुव्र्यवहार गर्दै कुटपिट गरेको समुदायले आरोप लगाएको छ।

कुटपिटमा परेकी सोनाली महतो गम्भीर घाइते भएकी छन्। उनलाई तत्कालै उपचारका लागि बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। समुदायका अनुसार सोनालीको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने उनको केही सुनका गरगहना पनि हराएको बताइएको छ।

घटनापछि किन्नर समुदाय आक्रोशित बनेको छ। समुदायकी नेतृ हेमा यादवले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “हामीमाथि अन्याय भएको छ। दोषीलाई पक्राउ नगरेसम्म हामी सडकमै संघर्ष गर्छौं।” उनले थपिन्, “यदि न्याय नपायौं भने हामी नग्न विरोध गर्न बाध्य हुनेछौं।”

आक्रोशित समुदायका सदस्यहरूले केही समय राजमार्गमा टायर बाल्दै प्रदर्शन गरेका थिए। उनीहरूको माग छ- कुटपिटमा संलग्न भनिएका तीनै जना व्यापारीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख राजेश बरतौलाले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन्। “घटनाको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विस्तृत अनुसन्धानपछि मात्र आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ,” उनले भने।

स्थानीयवासीहरूले बर्दिबासजस्तो सहअस्तित्वपूर्ण शहरमा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले पीडितलाई न्याय र दोषीलाई कानुनी सजायको माग गरेका छन्।

बर्दिबास क्षेत्रमा पछिल्ला वर्षमा किन्नर समुदाय सामाजिक रूपमा सक्रिय बन्दै आएको छ। स्थानीय विकास, सहअस्तित्व र अधिकारका विषयमा आवाज उठाउँदै आएको समुदायले भने यो घटना आफूहरूको सुरक्षाप्रतिको चिन्ता र सामाजिक सम्मानमा देखिएको चुनौतीको ताजा उदाहरण भएको बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको