महोत्तरीमा ३० किलोभन्दा बढी गाँजा बरामद, पाँच जना पक्राउ


२८ असोज, बर्दिबास- अनुराग कुमार यादव। जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले पछिल्ला दुई छुट्टाछुट्टै घटनामा गरी करिब ३०.४८२ किलो अवैध लागुऔषध (गाँजा) बरामद गरेको छ। यस क्रममा पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार, मिति २०८२ असोज २७ गते राति करिब ९:३० बजे, बर्दिवास नगरपालिका-४ स्थित पञ्चधुरा मन्दिर नजिकै विशेष सूचनाको आधारमा खटिएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-४ का २३ वर्षीय डेनिस घिसिङ, त्यही स्थानका २९ वर्षीय राज बुलन, धनुषा जनकपुरधाम उपमहानगरपालिका-२ का २६ वर्षीय धिरण यादव र सोही ठाउँका २४ वर्षीय उमेश यादव रहेका छन्।

उनीहरूले झाडीमा लुकाइराखेको अवस्थामा रातो रंगको प्लास्टिकमा प्याक गरिएको १० केजी ४८२ ग्राम गाँजा, साथै प्रदेश २–०२–००४ प ६६५६ र बा.प्र. ०२–०२३ प ३६०५ नम्बरका दुईवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको र मिति २०८२ असोज २८ गते जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी, सोही राति करिब ८:३० बजे, मनरासिस्वा नगरपालिका-२ स्थित भोल्ही-सरपल्लो सडकखण्डमा गरिएको अर्को कार्यवाहीमा पनि प्रहरीले २० केजी गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

संयुक्त रूपमा खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको “ON TEST” नम्बरको पल्सर १५० सीसी मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।

मोटरसाइकलमा सवार महोत्तरी सोनमा गाउँपालिका-१ का ३१ वर्षीय रामभरोश यादवले बोकेको प्लास्टिकको बोरामा रातो प्लास्टिकले बेरी डोरीले बाँधिएको अवस्थामा ५-५ केजीका चार पोका (जम्मा २० केजी) गाँजा फेला परेको प्रहरीले जनाएको छ।

उनीमाथि समेत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शैलैन्द्र कुमार भट्टले जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको