महोत्तरी। बर्दिबास-३ स्थित गौरिबास युथ क्लबले दीपावली तथा छठ पर्वको अवसरमा गौरिबास खुला नकआउट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका संयोजक दीपक रायमाझीका अनुसार प्रतियोगिता आगामी असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म गौरिबासमै सञ्चालन हुनेछ।
चार जिल्ला धनुषा, महोत्तरी, सिराहा र सर्लाही-का टिमहरू सहभागी हुने सो प्रतियोगिता क्लबको पहिलो संस्करण हो। रायमाझीले प्रतियोगितालाई सफल बनाउन सबैको सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
प्रतियोगिताको इन्ट्री फी रु ५,१०० तोकिएको छ र सहभागी टिमहरूले उक्त रकम QR कोडमार्फत पठाई रजिष्टर गर्न सक्नेछन्। प्रत्येक दिन दुईवटा खेल सञ्चालन हुने र खेलको विवरण बिहान ११ बजे टाइसीटमार्फत जानकारी गराइने क्लबले जनाएको छ।
नेपाल भलिबल संघका नियमअनुसार प्रतियोगिता सञ्चालन हुनेछ। प्रत्येक टिममा १० खेलाडी र २ जना कोच गरी १२ जना रहनेछन्। फाइनल खेल कात्तिक १ गते दिउँसो २ बजेबाट सुरु हुनेछ।
पुरस्कार रकमतर्फ पहिलो हुने टिमले रु १,०१,००० र ट्रफी तथा दोस्रो हुने टिमले रु ५१,००० र ट्रफी प्राप्त गर्नेछ। हरेक दिनको उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।









