२१ असोज, महोत्तरी। देशभर जारी लगातार वर्षा र बाढीका कारण सिर्जित संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै मनराशिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले आज भोल्ही, मनरा, साढा, सरपल्लो लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
नगर प्रमुख पाण्डेयज्यूले बाढीले प्रभावित स्थानहरूमा पुगेर स्थानीय बासिन्दाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको छ। साथै, राहत तथा उद्धार कार्यमा खटिएका टोलीलाई अझ सक्रिय र समन्वित ढंगले काम गर्न निर्देशनसमेत दिनुभएको छ।
निरीक्षणका क्रममा नगर प्रमुखले जनताको सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै, जोखिम न्यूनीकरणका लागि तत्कालीन आवश्यक कदम चालिने जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिका बाढीको पानीको बहाव व्यवस्थापन, क्षति नियन्त्रण, प्रभावित परिवारहरूको अस्थायी बसोबास, स्वच्छ पानी, स्वास्थ्य सेवा र खाद्य सहायता सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहेको छ।
नगर प्रमुख पाण्डेयले भने, “यो विपत्को घडीमा नगरपालिका जनतासँगै छ। उद्धार, राहत र पुनःस्थापनाका सबै कार्यमा नगरपालिकाले कुनै कसर बाँकी राख्दैन।”
नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वयंसेवकहरूको संयुक्त टोली बाढीपीडित क्षेत्रहरूमा उद्धार तथा सहयोग कार्यमा सक्रिय रूपमा खटिएका छन्।
मनराशिसवा नगरपालिकाले सबै नागरिकलाई सचेत रहन, जोखिमयुक्त क्षेत्रमा नबस्न र आवश्यक परेमा नजिकको प्रहरी वा नगरपालिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।













