धनुषा। धनुषाको विदेह नगरपालिका – २ दुहबीमा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय हरि पण्डित रहेका छन्।
गएराति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा घरको फलामे गेटमा करेन्ट प्रवाह भई उनी घाइते भएका थिए। गम्भीर घाइते पण्डितलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्।
जन्मजात फरक क्षमता (अपांगता) भएका पण्डित राति सुत्नुअघि घरको मुख्य ढोका (मेन गेट) बन्द गर्न खोज्दा दुर्घटना भएको बताइएको छ। घरमा बिजुलीको तार काटिएर गेटमा करेन्ट प्रवाह भएको प्रारम्भिक अनुमान गरिएको छ।
पण्डित फरक क्षमताका भए पनि बालबालिकालाई ट्युसन पढाएर जिविकोपार्जन गर्दै आएका थिए। उनका एक छोरा र एक छोरी छन्। छोरा विदेशमा रहेका छन् भने छोरीको विवाह भइसकेको छ। श्रीमती भने श्रीमान्को मृत्युको समाचार सुनेपछि अचेत भएकी छन्।
मृतकको शव जनकपुर प्रादेशिक अस्पतालमै पोष्टमार्टम भइरहेको र त्यसपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।











