७ असोज, काठमाडौं – चन्दन रजक।
जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नेपालका राजनीतिक दलहरूमा देखिएको बढ्दो अनुशासनहीनता र कमजोर राजनीतिक संस्कारप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार हालका वर्षहरूमा पार्टीको विधि–प्रक्रिया नमान्ने, नियम उल्लङ्घन गर्ने, निर्णयको अवज्ञा गर्ने तथा संगठनलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति मौलाइरहेको छ। यसले सबल जनमुखी लोकतन्त्रलाई कमजोर बनाउने खतरा बढेको उनले बताए।
डा. राउतले उच्च नैतिक मूल्य, आन्तरिक लोकतन्त्र र अनुशासित नेता–कार्यकर्ता लोकतान्त्रिक व्यवस्थाको अनिवार्य आधार भएको उल्लेख गर्दै गुटबन्दी र अवसरवादले विचारधारामूलक राजनीति विस्थापित गरेको बताए। उनका शब्दमा, “पद प्राप्तिको दौडले विचार र संस्कारलाई पछाडि पारेको छ, जसले पार्टीहरूलाई विचार–केन्द्रित भन्दा अवसरवादी–केन्द्रित संगठनमा परिणत गरिरहेको छ।”
उनले दलहरूलाई तत्कालीन सत्ता प्रतिस्पर्धाभन्दा दीर्घकालीन राजनीतिक संस्कार निर्माणमा ध्यान दिन आह्वान गर्दै अनुशासनहीनता नियन्त्रण, आन्तरिक लोकतन्त्र सुदृढीकरण र राजनीतिक संस्कारको पुनर्जागरणबिना जनताको विश्वास गुम्ने चेतावनी दिए।
डा. राउतका अनुसार नियम तोड्नेलाई दण्ड र अनुशासितलाई प्रोत्साहन–सम्मानको व्यवस्था हुनुपर्छ। असहमति वा आलोचनालाई निषेध होइन, सुधारको अवसरको रूपमा लिनुपर्ने उनको सुझाव छ। “यसरी मात्र गुटबन्दीलाई नीति बहसमा रूपान्तरण गर्न सकिन्छ र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन सकिन्छ,” उनले जोड दिए।











