मन्त्री घिसिङ र भारतीय राजदूतबीच ऊर्जा तथा सिँचाइ क्षेत्रमा सहकार्यबारे छलफल


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

मन्त्री घिसिङको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाहरूको प्रगति र आगामी योजनाबारे विस्तृत छलफल भएको थियो।

सो अवसरमा द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत नहरमार्फत नेपालतर्फ पानी आपूर्ति गर्ने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको प्रगति, इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातका स्वीकृति लगायतका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।

मन्त्री घिसिङले दसैँ-तिहारको समयमा उद्योग-व्यवसाय बन्द रहने भएकाले आन्तरिक विद्युत् खपत घट्ने कारण थप विद्युत् निर्यातको स्वीकृति दिन भारतसँग आग्रह गर्नुभएको बताइएको छ।

हाल नेपालले भारतसहित बङ्गलादेशतर्फ १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ भने थप चार आयोजना (१३८ मेगावाट) को निर्यात स्वीकृतिका लागि प्रस्ताव भारतसमक्ष पेश गरिएको छ। इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको जानकारी पनि भेटमा गराइएको थियो।

त्यसैगरी, जेन-जी आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताउनुभएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव चिरञ्जीवी चटौत र सन्दीपकुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा अधिकृत प्रतीक कार्कीको समेत उपस्थिति थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको