महोत्तरी, बर्दिबास । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासले विशेष सूचनाको आधारमा गरेको चेकजाँचमा एक युवक पक्राउ परेका छन्।
शनिबार बिहान करिब ८:४५ बजे बर्दिबास नगरपालिका – ३ गौरीडाँडा स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट नजिकैको वीपी राजमार्गमा प्रनानी सरोज कुमार अधिकारीको कमाण्डमा रहेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध (ब्राउन सुगर/खैरो हिरोइन) सहित एक युवकलाई नियन्त्रणमा लिएको हो।
गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार सिराहा मिचौया नगरपालिका – ६ निवासी २४ वर्षीय रोहित महतो (ना.प्र.प.नं. १५-०१-७९-०३१७४) को साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
महतो चालक साइडमा बसिरहेका अवस्थामा चेकजाँच गर्दा, उनले साथमा बोकेको खैरो रंगको हाफकट्टु भित्र सेतो प्लास्टिकमा र्याप गरेर लुकाइ-छिपाइ गरिएको अवस्थामा लागुऔषध फेला परेको थियो। बरामद पदार्थको तौल डिजिटल तराजुमा नाप्दा प्लास्टिकसहित १०२ ग्राम २५० मिलिग्राम र प्लास्टिक बाहेक शुद्ध ९७ ग्राम १६० मिलिग्राम रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको छ।










