जनमत पार्टीको समर्थन फिर्तापछि पनि मुख्यमन्त्री सिंह राजीनामा दिन आनाकानी


जनकपुरधाम। जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सोही पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिएका छैनन्।

मुख्यमन्त्री सिंहलाई राजीनामाका लागि जनमत पार्टीका संसदीय दलका नेता महेशकुमार यादवसहित विपक्षी दलका नेताहरूले दबाब दिइरहेका छन्। तर संचारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री सिंहले जेन–जी आन्दोलनपछि देशको अवस्था र मधेश प्रदेशको परिस्थितिलाई सामान्य पार्नुपर्ने आवश्यकताका कारण तत्काल राजीनामा नदिएको स्पष्ट पारे। उनले जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थिति प्रदेशसभामै सामना गर्ने तयारी रहेको बताए।

यता, जनमत पार्टी संसदीय दलका नेता महेशकुमार यादवले सिंहले पार्टीको निर्णय नमान्नु गलत भएको टिप्पणी गरेका छन्। उनले पार्टीले स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।

प्रदेशसभामा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रक्रिया अघि बढ्ने सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी टुंगो प्रदेशसभामै हुने र त्यसपछि मात्र प्रदेश प्रमुखले प्रमाणिकरण गर्ने अधिकार रहेको स्पष्ट पारे।

सत्ता साझेदार एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सिंह केवल जनमत पार्टीका मुख्यमन्त्री नभई एमाले, कांग्रेस र लोसपाको गठबन्धनको साझा उम्मेदवार भएकाले जनमत पार्टीले समर्थन फिर्ता गर्दा गठबन्धनभित्रै छलफल हुनुपर्नेमा जोड दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको