बर्दिवास – जनमत पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। पार्टी अध्यक्ष डा. सिके राउतको राजीनामा माग्दै आएका शीर्ष तहका नेताहरूमाथि कडा कारबाहीको माग उठेको छ।
विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अर्जुन प्रसाद कुशवाहा र ऋषिकेश ठाकुरले सामाजिक सञ्जालमार्फत प्रवक्ता शरद सिंह यादव, उपाध्यक्ष अब्दुल खान, स्वास्थ्य जनमत संघका केन्द्रीय अध्यक्ष सि.के. सिंह, नेता संजय यादवसहित ६ जनालाई २४ घण्टाभित्र साधारण सदस्यसमेत नराखी पार्टीबाट तत्काल बर्खास्त गर्न चेतावनी दिएका छन्।
कुशवाहाले भने, “सदस्यहरूले असन्तुष्टि व्यक्त गर्न सक्छन्, तर नेतृत्वलाई सार्वजनिक रूपमा दबाब दिएर राजीनामा माग्नु संगठनको अनुशासनविपरीत हो। यस्तो कदम सह्य हुने छैन।”
यसअघि अध्यक्ष राउतको राजीनामा माग्दै केही नेताले सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर अहिले विद्यार्थी संगठनसहितका कार्यकर्ताले ती नेताहरूमाथि कठोर कारबाहीको माग गर्दै पार्टीभित्रको सत्ता संघर्षलाई झनै तीव्र बनाएका छन्।
पार्टी नेतृत्वले भने अनुशासन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।











