जलेश्वर कारागार जीर्ण, क्षमताभन्दा तीन गुणा बढी कैदी


जनकपुरधाम – एक शताब्दीभन्दा पुरानो इतिहास बोकेको महोत्तरीको जलेश्वर कारागार अहिले जीर्ण अवस्थासँगै व्यवस्थापन संकटमा परेको छ । भौतिक संरचना जीर्ण मात्र होइन, क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी राखिँदा समस्या झन् गम्भीर बन्दै गएको छ ।

यस कारागारको आधिकारिक क्षमता २०० कैदी हो । तर जेनजी आन्दोलनअघि यहाँ ५७६ जना कैदीबन्दी राखिएका थिए । आन्दोलनकै क्रममा भदौ २५ गते सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर ५७३ जना कैदी फरार भए । उनीहरूले कारागारका तीनवटा फलामे गेट तोडेर भागेका थिए । बाँकी रहेका तीनमध्ये एक कैदीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो भने दुई जना कारागार प्रशासनकै मातहतमा थिए ।

फरारमध्ये कर्तव्य ज्यानका ३३, लागुऔषधका ३३, जबर्जस्ती करणीका ३७, सवारी ज्यानका १५, अपहरणका ३, बहुविवाहका ३, मानव बेचबिखनका ४, चोरीका १४, डकैतीका ३, ज्यान मार्ने उद्योगका १३ लगायत विभिन्न मुद्दाका कैदी थिए ।

मंगलबारसम्म १६४ जना आफैं फर्किएका छन् भने १० जनालाई भारतीय प्रहरीले सीमाक्षेत्रबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाइसकेको छ । कारागार प्रमुख अशोक कुमार क्षेत्रीका अनुसार फरारमध्ये अझै धेरैजसो कैदी प्रशासनको सम्पर्कमा आएका छन् । ‘सम्पर्कमा आएका कैदीहरूले दुई–तीन दिनमै फर्किने जानकारी दिएका छन्,’ उनले बताए ।

क्षेत्रीका अनुसार कारागार तोडफोडका क्रममा तीन वटा ग्रील गेट र प्रशासन फाँटको ढोका क्षतिग्रस्त भएका छन् भने सातवटा सीसीटीभी चोरिएका छन् । अन्य क्षति भने भएको छैन ।

जलेश्वर कारागार वर्षायाममा बारम्बार डुबानमा पर्ने भएकाले यसलाई स्थानान्तरण गर्ने योजना बनाइएको छ । खैराचौरीस्थित सरकारी जग्गामा नयाँ भवन निर्माण गरी कारागार सार्ने तयारी भए पनि सरकारी पहल अझै आवश्यक रहेको क्षेत्रीले बताए ।

कारागारको ऐतिहासिक विवरण अनुसार सुरुमा यसको क्षमता १३५ कैदी मात्र थियो । २०५४ सालको निरीक्षणमै १७५ कैदी राखिएको तथ्य फेला परेको थियो । पछिल्लोपटक २०७९ सालमा प्रमुख जिल्ला अधिकारीको अनुगमनमा ५४८ पुरुष, ४९ महिला र ९ आश्रित राखिएको देखिएको थियो । हाल महिला ब्लक जीर्ण भएपछि महिला कैदीलाई अन्यत्र सारेर पुरुष ब्लक विस्तार गरी क्षमता २०० पुर्‍याइएको छ ।

तीन तले पक्की संरचनामा बनेको कारागारमा १८ वटा कोठा, एउटा ठुलो हल, १५ वटा शौचालय, खानेपानीका पाँचवटा धारा, पुस्तकालय र क्यारम, लुडो, ब्याडमिन्टनजस्ता खेल सामग्री उपलब्ध छन् । कैदीबन्दीले मुढा उद्योगमा काम गर्ने सुविधा पनि पाएका छन् । बिहान योग, साधना र तनाव व्यवस्थापन कार्यक्रमसमेत सञ्चालन हुने गरेको छ ।

स्थानीय ज्येष्ठ नागरिक योगेन्द्र प्रसाद चौधरीका अनुसार राणाकालमा गम्भीर अपराधीलाई खैराचोकको दक्षिणी बगैंचामा फाँसी दिइन्थ्यो भने सामान्य अपराधीलाई यही कारागारमा राखिन्थ्यो ।

आज यो कारागार संरचनागत जीर्णता, क्षमताभन्दा बढी कैदी र व्यवस्थापन संकटका कारण पुनः आधुनिकीकरण वा स्थानान्तरणको खाँचो देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको