लालबन्दीका आचार्यको सवारी दुर्घटनामा मृत्यु, श्रीमती गम्भीर घाइते


सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी ३८ वर्षीय नरकुमार आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।

शनिबार दिउँसो घरायसी कामका लागि स्कुटरमा सवार भई बर्दिबासतर्फ जाँदै गरेका आचार्य दम्पती पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१० स्थित वनपथ क्षेत्रमा दुर्घटनामा परेका थिए। आचार्यले चलाएको मधेश प्रदेश ०२–००८प–६८३४ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो।

महोत्तरी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीको हरिवन नगरपालिका–११ निवासी ४१ वर्षीय झनककुमार धमलाले तीव्र गतिमा लापरवाहीपूर्वक चलाएको प्रदेश २–०३–००१ख–६४६१ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका आचार्य दम्पतीलाई तत्काल उद्धार गरी बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा नरकुमार आचार्यको शनिबार दिउँसो मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। श्रीमती धनकुमारी घिमिरेको भने अस्पतालमा उपचार भइरहेको छ।

ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको