काठमाडौँ, २७ असार —
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी निर्देशन विपरीत गतिविधिमा संलग्न भएको आरोपमा दुई जना केन्द्रीय नेतासँग स्पष्टिकरण माग गरेको छ।
अनुशासन समितिका संयोजक एवं केन्द्रीय उपाध्यक्ष इ. नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित पत्रमा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र केन्द्रीय सदस्य बिन्देश साह सोनार (रौतहट) लाई सात दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ।
समितिका अनुसार पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा पार्टी निर्णयको खुल्लमखुल्ला विरोध गरिएको, पार्टीको नीति–निर्देशन र विधान विपरीत गतिविधि गरिएको देखिएको छ। यसलाई अनुशासनहीनता मान्दै पार्टीले संविधानको धारा ३२ (क) तथा उपधारा २, ३, ४, ५० र ५१ बमोजिम स्पष्टिकरण नपरेमा आवश्यक कारवाही अघि बढाइने चेतावनी दिएको छ।
पार्टी अनुशासन समितिले संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न सबै नेताकार्यकर्तालाई समेत आग्रह गरेको छ।











