
३ असार, अनिषा पौडेल, बर्दिवास ।
जनमत पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बर्दिवास नगरपालिका–१२ स्थित जुडिबजारको बरटोलमा आज राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सुरुवात वीर सहिद राम मनोहर यादबको तस्बिरमा माल्यार्पण गरेर गरिएको थियो । बैठकमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता जनमत पार्टी बर्दिवास नगर अध्यक्ष बिमलेश महतोले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत रहनुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा केन्द्रीय कार्यकारिणी सदस्य जीवन त्यागी, जिल्ला अध्यक्ष बिरेन्द्र मण्डल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दिलीप खड्गा, प्रेस जनमत संघका महासचिव ललन मण्डल, केन्द्रीय सदस्य चन्दन रजक, र क्षेत्र नं. १ का प्रतिनिधि राजकिशोर साहको समेत उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. राउतले बैठकमा बोल्दै संगठन सुदृढीकरण, प्रशिक्षण अभियान तथा आगामी निर्वाचन लक्ष्य “मिशन ८४“ सम्बन्धी धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “२०८४ सालसम्म ४० लाख सदस्य विस्तार र ५० सिट जित्ने हाम्रो लक्ष्य हो। त्यसका लागि आजैबाट गाउँ–गाउँ, घर–घरमा संगठन निर्माणमा जुट्नुपर्छ।”
डा. राउतले क्षेत्र नं.१ का सबै पालिकाका वडा प्रमुखहरूसँग प्रत्यक्ष सम्पर्कका लागि पत्र दिएकोे र त्यसमार्फत संगठनको अवस्था मूल्यांकन भइरहेको जानकारी दिनुभयो। साथै, उहाँले पार्टीको नीति, विधान तथा आचारसंहिता अनुसार नेताहरू विचारमा स्पष्ट, आचरणमा निष्ठावान् र जीवनशैलीमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा संगठनात्मक समीक्षा, उम्मेदवार छनोटका मापदण्ड, जनसंपर्क सुदृढीकरण, र आगामी योजनाको कार्ययोजना समेत प्रस्तुत गरिएको थियो। साथै, प्रशिक्षण सत्रमार्फत स्थानीय तहमा पार्टीको भूमिकाबारे सशक्त बहससमेत गरिएको थियो।